"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।

११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ सो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

ओलीले एमालेको ११ औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको बताउँदै एमालेको महाधिवेशन हरेक कोणबाट सफल महाधिवेशन भएको दाबी गरे।

ओलीले पार्टीभित्र समय समयमा केही समस्या देखिएको बताउँदै उनले आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्ने कामना गरे। ‘हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीति अनुसार हामी अगाडि बढ्ने छौँ, बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ,’, उनले भने।

ओलीले असन्तुष्टि नेतृत्व समक्ष मौखिक वा लिखित रूपमा पेस गर्न उहाँले निर्देशन दिए। पार्टी भित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न उनले आग्रह गरे।

सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य भएको उनले स्मरण गराए। समाज हुनको लागि अनुशासन अपरिहार्य रहेको आलीले स्पष्ट पारे। उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र तीमध्ये पनि अग्रदस्ताको रूपमा रहेको एमालेभित्र दृढ अनुशासन अपरिहार्य रहेको उनले बताए। एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी नभएको उनले स्पष्ट पारे।

सामूहिक प्रयास र हितका विरुद्ध मेरो निजी कुरा भनेर चल्न नमिल्ने ओलीले बताए। पार्टीको बैठक पनि अति अनुशासित रूपमा चल्ने ओलीले स्पष्ट पारे ।।

एमालेका विरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उनले यस्ता कुराबाट प्रभावित नहुन नेतालाई आग्रह गरे। अब एमालेभित्र कुनै गुट र प्यान नभएको बताउँदै उनले अब एमाले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पारे।

देश अहिले अप्ठेरो अवस्थामा रहेको बताउँदै ओलीले त्यो अप्ठेरोबाट देशलाई समाधानको बाटोमा ल्याउने काम एमालेले गर्ने उनले बताए।

देशमा लोकतन्त्र र गणतन्त्रविरुद्ध गतिविधि चलाउन हिंसा, तोडफोड र आगजनीको घटना गराइएको उनले बताउनुभयो। एमालेले आफ्नो गतिशीलतालाई अझ तीव्रता दिएर अघि बढ्ने ओलीले स्पष्ट पारे।

ओलीले अब सहर गाउँ सबै ठाउँमा टोल सुरक्षा समिति बनाएर सुरक्षाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

२०८२ पुस ४ गते शुक्रवार १८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु