नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छः राष्ट्रपति
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताउनुभएको छ । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।
नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै राष्ट्रपति पौडेलले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गर्र्नुभयो ।
उहाँले नेपालमा विभिन्न परिवारका समुदायको सम्मिश्रित संस्कृति रहेको बताउँंदै यी सबैको मिलनबाट नै नेपालीबीचको एकता बलियो भएको बताउनुभयो । उहाँले संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान पनि गर्नुभयो ।
राष्ट्रपति पौडेलले नेपालीहरु विश्वका कुना–कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकामा उक्त फाउण्डेशनको प्रशंसा गर्नुभयो । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामू चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई राष्ट्रपति पौडेलको सुझाव थियो ।
नेपाली नपुगेको दुनियाँमा ठाउँ नरहेको र नेपालीहरु जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो ‘विश्वका नेपालीलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनले सञ्चालन गरेको विश्वव्यापी अभियानप्रति आभार व्यक्त गर्दछु । यस अभियानले संसारमा नेपाल चिनाउन ठूलो योगदान पुर्याउने विश्वास पनि लिएको छु ।’
फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट जोड्नका लागि संसारबाट प्रतिभाहरु छानेर नेपालमै ल्याइ यस प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।
२०८० वैशाख २ गते शनिवार १८:५५ बजे प्रकाशित























