१२ खर्ब तरलता हुँदा पनि लगानी बढेनः उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त, रोजगारी सिर्जना प्रभावित
काठमाडौँ, असोज २९ गते । बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता र वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिए पनि नेपालमा लगानी बढ्न सकेको छैन । उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार नहुँदा रोजगारी सिर्जनासमेत प्रभावित भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार कमजोर बजार माग, पूँजी परिचालनमा समस्या तथा नीतिगत र प्रशासनिक झन्झटका कारण अर्थतन्त्रको गति सुस्त बनेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित भएको थियो, जबकि सरकारले ७ प्रतिशतको लक्ष्य राखेको थियो । नेपालका उद्योगहरू औसतमा ४४.५ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेका छन् भने व्यावसायिक आत्मविश्वास पछिल्लो ३६ वर्षयताकै न्यून रहेको महासङ्घले जनाएको छ ।
उक्त आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३.९ प्रतिशतले बढे पनि निजी क्षेत्रमा कर्जा प्रवाह ६.६ प्रतिशतले मात्रै वृद्धि भएको थियो । राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखेको थियो ।
महासङ्घका अनुसार गत आर्थिक वर्षको पहिलो नौ महिनामा उपभोग कर्जा ११.७ प्रतिशतले बढ्दा औद्योगिक उत्पादन कर्जा ६.५ प्रतिशतले मात्रै बढेको थियो भने कृषि कर्जा २.३ प्रतिशतले घटेको थियो । कुल कर्जाको ६३ प्रतिशत घरजग्गा धितोमा प्रवाह हुँदा साना तथा मझौला उद्यमले कर्जा पाउन कठिनाइ भोगिरहेका छन् ।
२०८३ असोज २९ गते बिहीवार २०:२२ बजे प्रकाशित






















