"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार सिंहदरबारमा पुँजी बजार तथा धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले बजारलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक काम अघि बढिरहेको बताएका हुन्।

छलफलका क्रममा व्यवसायी तथा लगानीकर्ताका जायज माग सम्बोधन गर्न सम्बन्धित निकायका प्रतिनिधिसँग थप छलफल गरी समाधान खोजिने प्रतिबद्धता प्रधानमन्त्री शाहले जनाएका छन्।

छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार समितिका सभापति तथा पुँजी बजार विज्ञ प्रियराज रेग्मीका अनुसार प्रधानमन्त्री शाहले समस्या समाधानका लागि नयाँ समिति गठन गर्नुभन्दा सम्बन्धित निकायले नै तत्काल आवश्यक पहल गर्ने आश्वासन दिएका थिए।

रेग्मीका अनुसार छलफलमा लगानीकर्ताको मनोबल बढाउने, बजारमा बढेको आपूर्तिलाई सन्तुलन गर्न माग पक्ष विस्तार गर्ने, करसम्बन्धी अस्पष्टता हटाउने, घाटा समायोजनपछि मात्र कर तिर्ने व्यवस्था मिलाउने तथा राष्ट्र बैंकमार्फत ब्रोकर कम्पनीबाट मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक व्यवस्था गर्नुपर्ने विषय उठाइएको थियो।

यस्तै, सहभागीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गरी प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने, दक्ष जनशक्ति आकर्षित गर्ने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन्।

धितोपत्र बोर्डले हालको १० कित्ते आईपीओ नीतिको पुनरावलोकन तथा सुधार गर्दै योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने सुझाव पनि छलफलमा दिइएको छ।

छलफलमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, स्टक ब्रोकर एसोसिएसन अफ नेपाललगायत पुँजी बजारसँग सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए।

२०८३ साउन ४ गते सोमवार १८:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु