मधेशका सांसदलाई प्रधानमन्त्रीको आग्रह : निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको पुल बन्नुस्
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्। उनले प्रभावित क्षेत्रका नागरिकको सुरक्षा, सामाजिक सद्भाव र घटनाको निष्पक्ष छानबिन सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालित भइसकेको भन्दै नागरिकलाई अफवाहमा नलाग्न र संयमता अपनाउन आग्रह गरे।
प्रधानमन्त्री शाहले प्रभावित नागरिकसम्म राज्यको उपस्थिति सुनिश्चित गर्ने, सुरक्षाको प्रत्याभूति दिलाउने र घटनाको निष्पक्ष अनुसन्धान गर्ने काममा सरकार केन्द्रित रहेको बताए। शान्ति–सुरक्षा कायम राख्न तथा परिस्थिति थप जटिल हुन नदिन सरकारले बहुआयामिक रणनीति अपनाएको उनको भनाइ थियो।
छलफलका क्रममा प्रधानमन्त्रीले सांसदहरूलाई तत्काल आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न र राज्य तथा जनताबीच विश्वासको सेतु बन्न आग्रह गरे। कठिन परिस्थितिमा जनताको घरदैलोमा पुगेर उनीहरूको साथमा उभिनु जनप्रतिनिधिको प्रमुख दायित्व भएको उनले स्मरण गराए।
प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै सांसदहरूले तत्काल आफ्नो निर्वाचन क्षेत्रमा फर्किएर शान्ति, सद्भाव र विश्वास कायम गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलमा सांसदहरूले प्रधानमन्त्रीले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले प्रभावित क्षेत्रसहित देशभर सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी र राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवादलाई अघि बढाउन सुझाव दिएका थिए।
उनीहरूले सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र अफवाहबाट विशेषगरी युवालाई जोगाउन जनचेतनामूलक अभियान सञ्चालन गर्न तथा धार्मिक र सामाजिक सद्भाव सुदृढ बनाउन निरन्तर सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा पनि जोड दिएका छन्।
२०८३ साउन १५ गते शुक्रवार १६:५१ बजे प्रकाशित























