"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड अझै बन्द

बनेपा, काभ्रे । लगातारको वर्षाका कारण पहिरो र रोशी नदीको कटानले विभिन्न ठाउँमा अवरुद्ध बनेको बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ।

अवरोध हटाउने काम पूरा नभएकाले यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभएको छ। सडक डिभिजन कार्यालय भक्तपुरको टोलीले बिहानैदेखि सडक सञ्चालनका लागि काम गरिरहेको छ। मौसमले साथ दिएमा असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको अधिकारीले बताउनुभएको छ।

गत वर्षको बाढी र पहिरोले बीपी राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्‍याएपछि सडक अहिले स्थायी पुनर्निर्माणको चरणमा छ। सडक बगेका स्थानमा तत्काल यातायात सञ्चालन गर्न बनाइएका अस्थायी डाइभर्सनमा वर्षायाममा हिलो, धुलो र बाढीको जोखिम कायमै रहेको छ।

यस वर्षको लगातार वर्षाले पनि राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक तथा डाइभर्सन कटान गरेको छ। चौकीडाँडा, चारसयबेँसी, गिम्तिबेँसी र माम्तीलगायतका क्षेत्रमा सडक प्रभावित भएको छ।

राजमार्गमा आकस्मिक पहिरो तथा अवरोध हटाउन विभिन्न स्थानमा एक्स्काभेटर, लोडर र टिपर तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

बीपी राजमार्ग राजधानी काठमाडौंलाई तराई तथा पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सडक भएकाले यहाँ हुने अवरोधको प्रत्यक्ष असर यात्रु, चालक, स्थानीय बासिन्दा तथा व्यापार व्यवसायमा पर्ने गरेको छ।

२०८३ असोज १२ गते सोमवार १३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु