"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अलैँचीको मूल्य एक महिनामै प्रतिमन १३ हजार रुपैयाँले घट्यो

धनकुटा । अलैँचीको मुख्य सिजनमै मूल्य घटेपछि धनकुटाका किसान चिन्तित बनेका छन्। भदौको पहिलो साता प्रतिमन ९८ हजार रुपैयाँमा कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर ८५ हजार रुपैयाँमा झरेको छ।

मूल्य घट्दा उत्पादन बजारमा ल्याउने समयमा किसान मारमा परेको पाख्रीबास नगरपालिका–१ सान्नेका कृषक निर्मल स्याङ्देनले बताएका छन्। दसैँअघि अलैँचीको मुख्य कारोबार हुने भए पनि यस वर्ष बजारमा आउनासाथ मूल्य घटेको किसानको भनाइ छ।

किसानका अनुसार व्यापारीले अलैँचीको मौज्दात बढाउँदै लगेका छन्। गत वर्ष यही सिजनमा अलैँची प्रतिमन ९५ हजार रुपैयाँसम्ममा कारोबार भएको थियो। यसअघि असोजको पहिलो साता मूल्य घटेर ८० हजार रुपैयाँसम्म पुगेको थियो।

अलैँचीको मूल्य भारतीय बजारमा निर्भर रहने भएकाले भारतमा उत्पादन र आपूर्तिको अवस्थाले नेपाली बजारमा प्रभाव पार्ने व्यापारी बताउँछन्। भारतको सिक्किम र आसाममा उत्पादित अलैँची बजारमा आएपछि मूल्य अझ घट्न सक्ने अनुमान गरिएको छ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा करिब १३३ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। यहाँ वार्षिक करिब ४२ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको छ। धनकुटा, महालक्ष्मी र पाख्रीबास नगरपालिका तथा साँगुरीगढी र छथर जोरपाटी गाउँपालिकामा यसको व्यावसायिक खेती हुँदै आएको छ।

२०८३ असोज १८ गते आइतवार १२:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु