उपभोक्ता मूल्य वृद्धिदर ७.१४ प्रतिशत नाघ्यो
काठमाडौँ । फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ७.१४ प्रतिशत पुगेको छ । गत वर्षको फागुनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धिदर ४.११ प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षको फागुनमा मूल्य वृद्धिदर ३.०३ प्रतिशत रहेको थियो । फागुनको मूल्य वृद्धिदर चालु आर्थिक वर्षका लागि सरकारले तय गरेको वार्षिक लक्ष्यभन्दा बढी हो । बजेट र मौद्रिक नीतिमा चालु आर्थिक वर्षमा मूल्य वृद्धि दर ६.५ प्रतिशतको सीमाभित्रै कायम गर्ने लक्ष्य राखिएको थियो ।
‘आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मूल्य वृद्धिदर औसत ६.५ प्रतिशतभित्र सीमित राख्नुको साथै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिँदै अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ । राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ६.८४ प्रतिशत रहेको छ । २०७७ फागुन महिनाको तुलनामा २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलको मूल्यवृद्धि २६.३४, तरकारीको १३.९६, दूधजन्य उत्पादन तथा अण्डाको ११.३० र दाल तथा गेडागुडीको १०.३० प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ सोही अविधिमा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायातको १६.२७, विविध वस्तु तथा सेवाको ९.०१ र शिक्षा उपसमूहको मूल्य वृद्धिदर ८.७९ प्रतिशत छ ।’
२०७८ चैत २९ गते मंगलवार २०:१३ बजे प्रकाशित






















