धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको उड्डयन प्राधिकरणको निष्कर्ष
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै धरानमा विमानस्थल उपयुक्त नरहेको निष्कर्ष निकालेको हो ।
तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने भन्दै प्राधिकरणले धरानमा विमानस्थल उपयुक्त नरहेको निष्कर्ष निकालेको हो ।साथै, आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले समेत त्यहाँ विमानस्थल सम्भव नरहेको प्राधिकरणले जनाएको छ ।
धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको सहितका विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगेको प्राधिकरणले जनाएको छ ।
यसअघि धरानमा विमानस्थल बनाउनुपर्ने धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले चर्को दबाब दिइरहेका छन् ।
२०८० फागुन १५ गते मंगलवार २०:०६ बजे प्रकाशित






















