सरकारका प्रवक्ता भन्छन् : सहकारीको प्रतिवेदन कार्यान्वयन सुरु भयो
सहकारीको प्रतिवेदन कार्यान्वयन सुरु भएको सञ्चारमन्त्री गुरुङको दाबी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि शुरुवाती कारबाही शुरु भएको बताएको छन् ।
आइतवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उनले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर सुरुवाती कारबाही सुरु भएको बताएको हो ।
उनले समितिको प्रतिवेदनअनुसार प्रतिवेदनले कारबाही गर् भनेका व्यक्तिलाई पक्राउ गरिएको बताए । उनले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताए।
उनले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा पूरा काम सम्पन्न गरेको बताए । उनले राष्ट्रिय समाचार समितिलाई २४ घण्टा नै काम गर्ने व्यवस्था मिलाइएको र थप दुई वटा मातृ भाषा ९नेपाल र मैथिली० मा समाचार संप्रेषण गरेको, नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रशारण गर्ने दायित्वमा नेपाल भाषामा समाचार प्रशारण गरिएको जानकारी दिए।
उनले २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप्नुपर्नेमा दनुवार भाषा थपिएको बताए ।
सञ्चारमन्त्री गुरुङले एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएकोमा सो काम पनि पूरा गरेको र गोरखापत्रबाट ४४ वटा भाषामा समाचार संप्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार संप्रेषण र प्रकाशन गर्ने काम भइसकेको बताए। उनले ८ वर्षको गोरखापत्रको रेकर्ड डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको बताए ।
उनले भने, ‘‘हामीले सय दिनको हनिमुन पिरेड पार गर्दैछौँ । यो सय दिनभित्र नेपाल सरकारको तर्फबाट विभिन्न मन्त्रालयलाई दिइएको जिम्मेवारी कहाँकहाँ पूरा भएको छ भन्ने बारेमा अब रिपोर्ट कलेक्शन हुँदैछ । हाम्रो मन्त्रालयलाई १५ वटा जिम्मेवारी दिएको थियो । त्यसमा सबै जिम्मेवारी पूरा गरेका छौँ । १८ घण्टा काम गरेको राससलाई २४ घण्टा काम गर्ने बनाउ भनिएको थियो, त्यो हामीले बनाइसकेका छौँ । राससबाट थप दुई मातृ भाषामा नेपाल भाषा र मैथिली भाषामा पनि समाचार संप्रेषण गर्न भनिएको थियो, हामीले पूरा गरिसकेका छौँ । नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रशारण गरेका छौँ । २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप भनिएको थियो, दनुवार भाषा थपिसकेका छौँ । एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएको थियो त्यो सम्पन्न गरिसकेका छौँ । गोरखापत्रबाट ४४ वटा भाषामा समाचार संप्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार संप्रेषण र प्रकाशन गर्ने काम भइसकेको छ । ८ वर्षको गोरखापत्रको रेकर्डहरु डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको छ । सहकारीको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा छौँ । प्रतिवेदनले औंल्याएका व्यक्तिलाई कारबाही गर्ने शुरुवात मात्रै भएको हो ।’’
२०८१ कात्तिक ४ गते आइतवार १७:२१ बजे प्रकाशित























