"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोकास्थित दसैँघरमा भित्र्याइएको छ ।

गोरखा दरबारबाट बिहान पूजाअर्चनापछि पठाइएको फूलपातीसहितको डोली मध्याह्न हनुमानढोका आइपुगेको थियो । नेपाली सेनाका डोलेहरूले बोकेर ल्याएको डोलीलाई बाजागाजासहित स्वागत गरिएको थियो ।

वसन्तपुरस्थित मुख्य दरबारअगाडि नेपाली सेनाले बन्दुक पड्काएर सलामी दिएपछि फूलपातीसहितको डोलीलाई दरबार परिसर परिक्रमा गराएर दसैँघरमा भित्र्याइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

हनुमानढोकाको दसैँघरमा राखिएको फूलपातीलाई विजयादशमीको बिहानसम्म पूजाअर्चना गर्ने परम्परा छ । दशमीका दिन टीका ग्रहण गर्ने समयमा जमरासँगै फूलपाती सर्वसाधारणलाई वितरण गर्ने चलन छ ।

ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरणपछि राजधानी काठमाडौँ सारेसँगै गोरखा दरबारबाट हरेक वर्ष बडादसैँको सातौँ दिन फूलपाती पठाउने परम्परा सुरु भएको मानिन्छ । यसले गोरखा र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

गोरखा दरबारको दसैँघरमा पनि शनिबार साँझ हर्षबढाइँसहित फूलपाती भित्र्याउने कार्यक्रम रहेको छ ।

२०८३ असोज ३१ गते शनिवार १४:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु