बुधबारदेखि मौसम बदलिँदै, वर्षा र हिमपातको सम्भावना
काठमाण्डौ – पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली हुनुका साथै बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आगामी शुक्रबारसम्म देशका विभिन्न भूभागमा मौसम बदली रहनेछ । आज हिमाली क्षेत्रमा आंशिक बदली हुने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
मङ्गलबार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।
बुधबारदेखि मौसममा थप परिवर्तन हुने अनुमान गरिएको छ । बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ । बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।
मौसममा हुने परिवर्तनले दैनिक जनजीवनसँगै पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने महाशाखाले जनाएको छ । विशेषगरी हिमाली क्षेत्रमा यात्रा गर्ने तथा पर्वतारोहणमा जानेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्ने देखिएको छ ।
महाशाखाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन र सम्भावित वर्षा तथा हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
२०८३ कात्तिक ९ गते सोमवार १३:५३ बजे प्रकाशित























