काठमाडौं महानगरका तत्कालीन इन्जिनियर कोइरीविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (सातौं तह) रामबाबु महतो कोइरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कोइरीविरुद्ध पदको दुरुपयोग गरी कोइरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको विशेष अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।कोइरी सार्वजनिक सेवामा रहेको अवधिमा ३ करोड ३७ लाख ७९ हजार ४३४ रुपैयाँ बराबरको वैध स्रोत खुलेको र यो अवधिमा भएको लगानी र आयव्ययको हिसाब ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ बराबरको देखिएकाले स्रोत नखुलेको सम्पत्तिलाई अख्तियारले बिगो कायम गरेको हो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौंको चण्डोलमा बस्दै आएका कोइरी २०४६ सालमा सार्वजनिक सेवा प्रवेश गरेका थिए । अख्तियारले सेवा प्रवेशदेखि ३० फागुन २०७८ सम्मको अवधिमा कोइरीको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो । यस क्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी लगायतमा भएको आर्थिक कारोबार, जग्गाजमिन, इन्स्योरेन्स, शैक्षिक संस्थामा गरेको लगानीलगायतको स्रोत खुलेको सम्पत्तिको तुलनामा बिगो कायम गरिएको सम्पत्ति बढी देखिएको अनुसन्धानबाट खुलेको हो । यही स्रोत नखुलेको सम्पत्तिलाई नै अख्तियारले भ्रष्टाचारबाट आर्जित सम्पत्तिका रुपमा किटान गरी मुद्दा दायर गरेको हो । अख्तियारले स्रोत नखुलेको सम्पत्तिबाट बढे बढाइएको चलअचल सम्पत्तिसमेत जफत गर्न मागदाबी लिएको छ ।
गैरकानुनी सम्पत्ति कोइरीले विभिन्न क्षेत्रमा लगानी गरी लुकाएको, गैरकानुनी सम्पत्ति परिवारका सदस्यका नाममा लुकाएको भेटिएपछि पत्नी मालाकुमारी महतोलाई समेत सम्पत्ति जफत प्रयोजनका लागि अख्तियारले प्रतिवादी बनाएको छ ।
२०८२ जेठ २६ गते सोमवार १७:२० बजे प्रकाशित























