प्रमुख प्रतिपक्षी सहमतिमा आइसक्यो, अब रास्वपालाई पेलेरै जानुपर्छ भन्ने नठान्नहोला : वर्षमान पुन
काठमाडौँ । प्रमुख प्रतिपक्षी माओवादीका उपमहासचिव वर्षमान पुनले रास्वपाका सांसदहरुले संसद्को वेल घेराउ गरिरहेको बेला सत्तारुढ दलहरू संयमित भएर प्रस्तुत हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा पुनले प्रमुख प्रतिपक्षी सहमतिमा आइसक्यो, अब रास्वपालाई पेलेर जानुपर्छ भन्ने नठान्न पुनले आग्रह गरेका हुन् ।
उनले भने ‘प्रमुख प्रुमख प्रतिपक्षी दल आइसक्यो, अब यस (रास्वपा) लाई पेले पनि हुन्छ भन्ने ठानिनु हुँदैन । कहिले को प्रतिपक्ष हुन्छ, कहिले कसको संख्या ठूलो हुन्छ, कसको सानो हुन्छ, यो भइराख्ने कुरा हुन् । संसदीय गणित परिवर्तन भइरहने कुरा हुन्,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दललाई ल्याइहाल्यौं, प्रतिपक्ष अलग भयो, चौथो दल कमजोर भयो, यसै बेला अलिअलि राजनीतिक रूपले दबाब बनाउँ, विगतमा सानातिना कुरासँग प्रतिशोध पनि देखाइहालौं भन्नेजस्तो सत्तापक्षले गर्न मिल्दैन ।’
संसद् सञ्चालनमा सत्तापक्ष र सभामुख जिम्मेवार बन्नुपर्ने पुनको भनाइ थियो । ‘सभामुख सदनको अभिभावक हुनुहुन्छ । संवादको वातावरण बनाउनुस् । उहाँहरूलाई पनि छलफलमा ल्याउने, बजेटमा आफ्ना धारणा राख्ने वातावरण बनाउनुस्,’ उनले भने ।
२०८२ असार १ गते आइतवार १७:१३ बजे प्रकाशित























