"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

तीन महिनामा दुई हजार ६५ वटा विपतजन्य घटना: ९३ जनाको मृत्यु, २२ बेपत्ता, चार हजार १३६ परिवार प्रभावित

काठमाडाैं । गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपतजन्य घटना भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपतजन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म ४४५ जना घाइते भएका छन् । उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए । प्राधिकरणले आज सार्वजनिक गरेको ०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै १३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् ।

केही दिनअघि गत असार २४ गते रसुवाकाे भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो । माथिल्लो क्षेत्रमा भएको हिमताल विस्फाेटबाट उक्त घटना भएको थियो । यस्तै, पहिरोका १७५ घटनामा ६ जनाको मृत्यु भएको छ । चट्याङबाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए । अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन् । पहिरो, चट्याङ, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ ।

२०८२ साउन १ गते बिहीवार १७:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु