गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने, प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको स्रोतले जनाएको छ ।
गणतन्त्र दिवसको अवसरमा हरेक वर्ष टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने गर्दछ । परम्पराअनुसार उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका छन् ।
यस वर्ष भने समारोहलाई राष्ट्रपतिबाट सम्बोधन गराउने तयारी गरिएको स्रोतले बताएको छ । सो सम्बन्धमा राष्ट्रपतिलाई सम्बोधनका लागि आग्रह गर्दै पत्राचार गरिएको जनाइएको छ ।
स्रोतका अनुसार, “गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिबाट सम्बोधन गराउने विषयमा राष्ट्रपति कार्यालयसँग पत्राचार भएको हो ।”
मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई मानिने भएकाले समारोहलाई सम्बोधन गरिदिन अनुरोध गरिएको व्यहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले जनाएको छ ।
नेपालको संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था गरिएको छ । उक्त धाराको उपधारा (२) मा मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा राष्ट्रपतिले कार्य गर्ने उल्लेख छ । सोही संवैधानिक व्यवस्थाअनुसार यस वर्ष गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् ।
२०८३ जेठ ११ गते सोमवार १८:१० बजे प्रकाशित























