दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो: ११ वटा काउण्टर थप
काठमाडौँ । दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ ।
राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ ।
एक निजी कलेजमा अध्ययनरत धनगढीका निशान खड्का आज बिहानै दशैँमा घर जाने टिकट लिन नयाँ बसपार्क पुग्नुभयो । काठमाडौँको चाबहिलमा डेरा लिएर बस्दै आउनुभएका उहाँ बिहान ५ बजे नयाँ बसपार्क पुग्नुभएको थियो । यही असोज २२ गते घर जाने तयारीमा रहनुभएका उहाँले दुई घण्टाको प्रतिक्षापछि टिकट लिनुभयो । औधी खुशी हुँदै उहाँले भन्नुभयो “अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन सहज भयो ।”
काठमाडौँबाट कैलाली हुँदै लम्की जाने तयारीमा रहनुएका आशिष पाण्डे टिकट लिन बिहान ४ बजे अन्यसाथीसहित नयाँ बसपार्क पुग्नुभयो । निजी कम्पनीमा कार्यरत उहाँले यही असोज २५ गते लम्की जानका लागि एकजनाको रु दुईहजार ३५ भाडा तिरेर टिकट लिनुभयो । उहाँ काठमाडौँको पेस्सीकोलाबाट टिकट लिन नयाँ बसपार्क पुग्नुभएको थियो ।
यस्तै, प्यूठान जानका लागि टीकाराम पोखरेल बिहान ५:३० बजे नयाँ बसापार्क पुग्नुभयो । जावलाखेल एक निजी कम्पनी नुवाकोटमा कार्यरत उहाँले भन्नुभयो “ अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन व्यवस्थित गरिएको रहेछ । टिकट लिन सजिलो भयो । ”
सरकारले यस वर्षको दशैँका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन्थ्यो ।
२०७८ असोज ११ गते सोमवार १४:२४ बजे प्रकाशित























