जंगेको शासन होइन फेसबुकबाट निर्देशन दिन, कानुन बिना मान्छेलाई सडकमा ठिंग्रयाउन गलत – रामहरि खतिवडा
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कानुन बिना मान्छेलाई सडकमा ठिंग्याउनु गलत भएको बताएका छन् । ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई सडकमा उभ्याएर ट्राफिक नियमकै पालनाका लागि खटाइन थालेपछि खतिवडाले प्रतिक्रिया दिएका हुन् ।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘ अहिले सडकमा केही मान्छेहरूलाई, कुनै मन्त्रीको निर्देशनमा, कुनै उपप्रधानमन्त्रीको निर्देशनमा, बिहानदेखि बेलुका ठिंग्याएर राख्ने पद्धति कानुनबिना सरासर गलत छ । मापसे गर्यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो ।’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमा ‘अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुले स्वयंसेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनु हुनेछ’ भन्ने जानकारीयुक्त पोस्ट गरेका थिए ।
बुधबारदेखि नै सडकमा ट्राफिक नियम उल्लंघनकर्तालाई राख्न थालिएको थियो । यसैप्रति लक्षित गर्दै खतिवडाले यस विषयमा आफू नेतृत्वको समितिमा छलफल गर्ने बताए ।
‘कार्यकारीलाई काम गर्न हामी रोक्दैनौँ । तर कार्यकारीले पनि कानुनसम्मत, संविधानसम्मत र मान्छेको वैयक्तिक अधिकारसम्मत रुपमा गर्नुपर्छ । मानवअधिकारको कुरालाई पनि हेर्नुपर्छ । जंगबहादुरभन्दा पनि उग्ररुपमा प्रस्तुत हुने पद्धतिको हामी विरोध गर्छौँ । कानुन हातमा लिने अधिकार कसैलाई छैन । समितिका सदस्यहरूसँग छलफल गरेर सायद हामी एकदुई दिनमा बैठक बोलाउँछौँ’, उनले भने ।
उनले आफूहरूले संविधान निर्माण गरेको र त्यसमार्फत् सबै जात, वर्ग र धर्मको अधिकार पनि स्थापित गरेको स्मरण गरे । थपे, ‘कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ । तर कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन ।’
खतिवडाले कानुनी राज्य भनेको राणा शासन नभएको बताए । ‘जंगेको शासन होइन । फेसबुकबाट निर्देशन दिने । अनि कानुन बिना नागरिकलाई सडकमा उभ्याउने काम गलत छ । यो पद्धतिका विरुद्धमा हामीले आवाज उठाउनुपर्ने छ र हामी यसबारेमा बैठक राख्छौँ’, उनले भने ।
२०८१ जेठ १७ गते बिहीवार १७:११ बजे प्रकाशित






















