प्रतिनिधिसभामा सरकारका तर्फबाट छ वटा अध्यादेश पेस
काठमाडौं । सरकारले जारी गरेका छवटा अध्यादेश प्रतिनिधिसभा बैठकमा पेस भएका छन् । शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका छन् ।
उक्त अध्यादेश प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पेस गरेका हुन् । त्यसैगरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका छन् ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका छन् ।
सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुव्वा गुरुङले सुशासन प्रवर्धन सम्बन्धी अध्यादेश पेस गरेका छन् । संसद् बैठक नचलेका बेला सरकारले ल्याएका अध्यादेश संसद् बैठक बसेको पहिलो दिन पेस गर्ने व्यवस्था छ । ती अध्यादेश ६० दिनभित्र पारित गर्नुपर्ने व्यवस्था रहेको छ ।
२०८१ माघ १८ गते शुक्रवार १९:०७ बजे प्रकाशित





















