बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जिल्ला प्रशासन कार्यालयले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो व्यवस्था लागू गरेका हुन्।
काभ्रे प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म काभ्रेभञ्ज्याङदेखि सिन्धुलीसम्मको खण्डमा सवारी चलाउन निषेध गरिएको छ। रोशी खोला तथा अन्य खोलामा बाढी आएको अवस्थामा प्रहरीले अन्य समयमा पनि सवारी रोक्न सक्ने उल्लेख छ।
त्यस्तै, सिन्धुली प्रशासनले १३ र १४ कात्तिकका दिन साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म खुर्कोट बजारदेखि काठमाडौंतर्फ सवारी आवागमनमा रोक लगाएको छ। भारी वर्षा भएमा दिउँसो पनि सवारी चलाउन रोक लगाउन सकिने प्रशासनले जनाएको छ।
स्थानीय प्रशासनले बाढी र पहिरोको जोखिमका कारण सतर्कता अपनाउन सवारी चालक र यात्रुहरूलाई अनुरोध गरेको छ।
२०८२ कात्तिक १३ गते बिहीवार १७:१२ बजे प्रकाशित






















