एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु गर्ने तयारी भए पनि विद्युतीय भोटिङ मेसिनको कोडिङ मिलाउन समय लागेकाले साँझदेखि मात्रै मतदान सुरु गरिने ११औँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
महाधिवेशनका लागि १०० वटा विद्युतीय भोटिङ मेसिन ल्याइए पनि तीमध्ये ८० वटा मेसिन मात्र मतदानमा प्रयोग गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।
उनका अनुसार एक जना प्रतिनिधिले मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट समय लाग्नेछ। महाधिवेशनमा कुल २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन्।
निर्वाचन आयोगका अनुसार ११ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी पदका लागि प्रत्येक प्रतिनिधिले कम्तीमा २ सय ९२ जनालाई मत दिनुपर्ने अवस्था रहेको छ।
८० वटा मेसिन प्रयोग हुने भएकाले एक पटकमा ८० जना प्रतिनिधिले मात्र मतदान गर्न पाउने छन्। एक राउन्डमा करिब २५ मिनेट लाग्ने हुँदा सबै प्रतिनिधिले मतदान गर्न कम्तीमा १० देखि ११ घण्टा लाग्ने अनुमान गरिएको छ।
एमाले ११औँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले पनि मतदान प्रक्रिया पूरा हुन कम्तीमा १० घण्टा लाग्ने बताएका छन्। मतदान ढिलो रातिसम्म चल्ने सम्भावना रहेकाले मतगणना र परिणाम सार्वजनिक हुन पनि समय लाग्ने देखिएको छ।
२०८२ पुस १ गते मंगलवार १७:१९ बजे प्रकाशित























