जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप आवश्यक रहेको बताएका हुन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित आयोगको म्याद तीन महिना तोकिएको थियो । म्याद सकिन लाग्दासमेत बयान लिने प्रक्रिया जारी रहेकाले आयोगले थप समय माग गरेको जनाएको छ ।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई आफ्नो काम प्रभावकारी रूपमा सम्पन्न गर्न केही समय अपुग भएकाले एक महिना म्याद थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने आश्वासन दिएकी छन् ।
त्यसैगरी आयोगले आगामी साता पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरिरहेको पनि कार्कीले बताए ।
जाँचबुझ आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित सुरक्षा निकाय र प्रशासनका उच्च अधिकारीहरूको बयान भने लिइसकेको छ ।
२०८२ पुस २ गते बुधवार १७:३२ बजे प्रकाशित























