रास्वपासँग कुनै पदको बार्गेनिङ गरिन: कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफू रवि लामिछानेलाई सभापति र बालेन शाहलाई वरिष्ठ नेता स्वीकार गरेर मात्रै रास्वपासँग एकता गरेको बताए।
अध्यक्ष घिसिङले पदको बार्गेनिङ गरेको भन्ने आरोप गलत भएको पनि उल्लेख गरे।
उनका अनुसार, पार्टी व्यवस्थापनको विषयमा छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भङ्ग भएको जानकारी आएको थियो। उनले भने कि समानुपातिक उम्मेदवार चयनमा उज्यालो नेपाल पार्टीले त्याग गरेको भए पनि प्रत्यक्षतर्फ अलि बढी उम्मेदवार उठाउने प्रस्ताव आफूहरूले अघि सारेका थिए।
घिसिङले थपे कि प्रत्यक्षतर्फ उम्मेदवार उठाउने विषयमा कुरा राख्दा रास्वपाले एकता भङ्ग गरेको र त्यसबाट आफू आश्चर्यचकित भएको महसुस भएको थियो। उनले उज्यालो नेपालसँगको एकता भङ्ग गर्न रास्वपालाई अन्यत्रबाट दबाब आएको हुनसक्ने आशङ्का पनि व्यक्त गरे।
२०८२ माघ १० गते शनिवार १७:१० बजे प्रकाशित























