"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता, देशले चाहेकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले देशले आवश्यक ठानेका व्यक्तिलाई आगामी निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै उनले भने, “आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। प्रस्तावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्दछु।”

विभिन्न व्यक्ति र दलको आग्रहपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताए। उनले थपे, “देशको अहिलेको तरल अवस्था अझै निश्चित आकार ग्रहण गरेको छैन। तपाईंले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा सल्लाह सुझाव दिएर अघि बढ्दा राम्रो हुन्छ भन्ने साथीहरू, दलको पनि सुझाव आयो।”

बाबुरामले सबैको आग्रह बमोजिम बाहिर रहँदै अभिभावकीय भूमिका निर्वाह गर्ने र दलहरूलाई सघाउने योजना रहेको बताए। उनले भने, “म जीवनभरिको अभिष्ट संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयन हो। चुनौती थपिएका छन्, ती व्यवस्थापन गर्नुपर्छ। मुख्य रूपमा देशमा तीव्र आर्थिक विकास र समृद्धिको आधारको रूपमा अघि बढ्नुपर्छ।”

उनी उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आग्रहमा तयार भएका हुन्। रास्वपाले यस क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी मैदानमा उतारेको छ। बुर्लाकोटी यही क्षेत्रबाट यसअघि पनि निर्वाचनमा सहभागी भएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेका थिए। यसपटक प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्।

स्रोतका अनुसार, प्रचण्डले पनि बाबुरामलाई फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्।

२०८२ माघ ९ गते शुक्रवार १७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु