रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिवालय बैठकले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई वरिष्ठ नेतामा सर्वसम्मत बनाउने तयारी गरेको हो ।
रास्वपाका एक नेताका अनुसार वरिष्ठ नेता पदलाई विधानमै समावेश गर्ने निर्णय गरिएको छ । उक्त पदका लागि निर्वाचन नगरी स्वत: सर्वसम्मत हुने व्यवस्था प्रस्ताव गरिएको उनले बताए ।
“अब वरिष्ठ नेताको पद विधानमै समेटिएको छ । यो कार्यकारी पद होइन । पूर्वसभापतिलाई पनि यसमा समेट्नुपर्ने विषय उठेको छ । तर, स्वत: वरिष्ठ नेता बन्ने गरी निर्णय भएको छ,” ती नेताले बताए ।
बिहीबार बसेको सचिवालय बैठकले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमा ‘वरिष्ठ नेता’ पद थप्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
गत निर्वाचनअघि बालेन समूह रास्वपामा समाहित भएपछि सभापति रवि लामिछानेपछिको वरीयतामा रहने गरी वरिष्ठ नेता पद सिर्जना गरिएको थियो ।
२०८३ असार ४ गते बिहीवार २०:११ बजे प्रकाशित






















