ग्यासको आपूर्ति सहज बनाउन उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन
काठमाण्डौ – नेपाल आयल निगमले देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज र नियमित बनाउन ग्यास उद्योगहरूलाई आयात, भण्डारण र वितरणका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज परिपत्र जारी गर्दै बजारको मागअनुसार ग्यास आयात बढाउन, भण्डारण क्षमता पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न आग्रह गरेको हो ।
निगमले भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन तथा बिक्रेता र बजारमा रहेका सिलिन्डर पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि निर्देशन दिएको छ ।
आयात, भण्डारण र वितरणबीच प्रभावकारी समन्वय भए आपूर्ति शृङ्खलामा अवरोध नहुने र बजार व्यवस्थापन सहज हुने निगमको विश्वास छ ।
यसैबीच निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक सञ्चिति नगर्न र कृत्रिम अभाव सिर्जना हुने गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।
२०८३ मंसिर ९ गते बुधवार १६:१४ बजे प्रकाशित























