"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ब्रोड पिक हिमपहिरो : चार आरोहीको शव फेला, निर्मल पुर्जासहित छ जना अझै बेपत्ता

काठमाडौं — पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो जाँदा चार जना आरोहीको शव फेला परेको छ भने विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’सहित छ जना अझै बेपत्ता छन्।
अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी)का अनुसार १० सदस्यीय आरोही टोली बिहीबार आरोहणका क्रममा हिमपहिरोमा परेको थियो। खराब मौसमका बीच उद्धार टोलीले घटनास्थलबाट चारवटा शव फेला पारेको छ भने शव सुरक्षित स्थानमा ल्याउने प्रयास भइरहेको छ।

पाकिस्तानी सञ्चारमाध्यम डन का अनुसार हालसम्म फेला परेका शवमध्ये ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको पहिचान भएको छ। अन्य दुई शवको औपचारिक पहिचान सार्वजनिक गरिएको छैन।

बेपत्ता हुनेमा नेपालका निर्मल पुर्जा, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। उनीहरूसँगै एक विदेशी आरोही पनि सम्पर्कविहीन छन्।

अल जजिराले गिल्गित–बाल्टिस्तान पर्यटन विभागका उपनिर्देशक साजिद हुसेनलाई उद्धृत गर्दै जनाएअनुसार उद्धार टोलीले दुर्गम र जटिल क्षेत्रमा बेपत्ता आरोहीहरूको खोजीलाई निरन्तरता दिएको छ। जिपिएस तथ्यांकका आधारमा हिमपहिरोले टोलीलाई करिब एक हजार मिटर तलसम्म बगाएको अनुमान गरिएको छ।

बेपत्ता आरोहीको खोजी तथा उद्धारका लागि पाकिस्तान सेनाका दुईवटा हेलिकोप्टरसहित विशेष उद्धार टोली परिचालन गरिएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।

गिल्गित–बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसेन र पर्यटनमन्त्री नायकनाम करिमले घटनाप्रति दुःख व्यक्त गर्दै उपलब्ध सबै स्रोत–साधन परिचालन गरी उद्धार अभियानलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

२०८३ साउन १५ गते शुक्रवार १६:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु