मधेशको सुरक्षा व्यवस्थापनमा प्रहरीको विशेष निगरानी, एआईजीदेखि एसएसपीसम्म परिचालन
काठमाडौं । मधेश प्रदेशसहित विभिन्न जिल्लामा देखिएको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले एआईजीदेखि एसएसपी तहसम्मका उच्च अधिकृतहरूलाई विभिन्न क्षेत्रमा खटाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पछिल्लो विकसित घटनाक्रमको सुरक्षा व्यवस्थापनका लागि उच्च अधिकृत परिचालन गरिएको हो।
खटिएका अधिकृतहरूले सम्बन्धित जिल्लाको सुरक्षा अवस्था मूल्याङ्कन गर्ने, प्रहरी जनशक्ति तथा स्रोत साधनको प्रभावकारी परिचालन गर्ने, सुरक्षा योजनाको कार्यान्वयन अनुगमन गर्ने, सूचना संकलन तथा विश्लेषण गर्ने र आवश्यक परे फिल्डमै खटिएर समन्वय गर्ने जिम्मेवारी पाएका छन्।
डीआईजी काफ्लेले उच्च अधिकृतहरूले प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गर्दै स्थानीय समस्या तथा गुनासो सम्बोधन गर्ने र परिस्थिति नियन्त्रण बाहिर जान नदिने गरी काम गर्ने बताए।
“समयमै स्थितिको सामान्यीकरण गर्ने र भएका गतिविधिबारे आवश्यकता अनुसार प्रहरी महानिरीक्षकसमक्ष जानकारी गराउने गरी उच्च अधिकृतहरू खटाइएको हो,” उनले भने।
खटिएका उच्च प्रहरी अधिकृतहरू
एआईजी
सिद्धीविक्रम शाह — बाँके
हिमालयकुमार श्रेष्ठ — मधेश प्रदेश
उमाप्रसाद चतुर्वेदी — कपिलवस्तु
ईश्वर कार्की — कोशी प्रदेशरसुनसरी
डीआईजी
दिनेशकुमार आचार्य — सिराहा
अबिनारायण काफ्ले — सप्तरी
एसएसपी
गोपालचन्द्र भट्टराई — सर्लाही
सोमेन्द्रसिंह राठौर — पर्सा
दीपसमशेर जबरा — रौतहट
नवराज अधिकारी — चितवन
कृष्णप्रसाद पंगेनी — महोत्तरी
होबिन्द्र बोगटी — बारा
ज्ञानेन्द्रप्रसाद फुयाँल — मोरङ
भुवनेश्वर तिवारी — धनुषा
अमरेन्द्रबहादुर सिंह — मधेश प्रदेश
२०८३ साउन १५ गते शुक्रवार १६:५३ बजे प्रकाशित






















