पर्वतारोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी शोकमा डुबेको छ।
अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मेका पुर्जाको निधनमा दु:ख व्यक्त गर्दै सोमबार गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनद्वारा जारी शोक वक्तव्यमा सोमबार गाउँपालिकाअन्तर्गतका अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिइने जनाइएको छ।
गाउँपालिकाले कीर्तिमानी आरोही पुर्जासहित आरोहण टोलीका सदस्यहरूको निधनले सिङ्गो गाउँपालिका परिवार, म्याग्दीवासी तथा देशलाई नै स्तब्ध र मर्माहत बनाएको जनाएको छ। नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु नयाँ उचाइमा पुर्याउन, नेपाली पर्वतारोहीको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न स्वर्गीय पुर्जाको योगदान सदैव स्मरणीय रहने गाउँपालिकाको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “उनको असामयिक निधनले नेपाललाई मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको छ। उनलाई हामी सधैँ स्मरण र उच्च सम्मान गर्ने छौँ।” दु:खी घडीमा गाउँ कार्यपालिकाको कार्यालयले शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा दिवङ्गत आरोहीका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ।
बिहीबार बिहान ब्रोड पिकको छ हजार सात सय मिटर उचाइमा टोलीसहित हिमपहिरोमा पर्नुभएका पुर्जाको खोजी तथा उद्धारका क्रममा शव फेला परेको हो। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरेका ४३ वर्षीय पुर्जाको निधनप्रति जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सर्वसाधारणले गहिरो शोक व्यक्त गरेका छन्।
सन् २००३ मा ब्रिटिस सेनामा प्रवेश गरेका पुर्जा सन् २००९ मा रोयल मरिन बनेको थिए। सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पदयात्राका क्रममा पर्वतारोहणतर्फ आकर्षित भएका पुर्जाले सन् २०१९ मा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल छ महिना छ दिनमा आरोहण गरेर विश्वकीर्तिमान कायम गरेको थिए।
२०८३ साउन १७ गते आइतवार १७:१६ बजे प्रकाशित























