बञ्चरेडाँडामा फेरि फोहोर संकट : १५ दिनभित्र माग पूरा नभए विसर्जन रोक्ने स्थानीयको चेतावनी
काठमाडौं । काठमाडौं उपत्यकाबाट दैनिक बञ्चरेडाँडा पुग्ने फोहोरका गाडी स्थानीयले एक घण्टा रोकेका छन्। फोहोर व्यवस्थापन वैज्ञानिक र व्यवस्थित ढंगले नभएको तथा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका हुन्।
सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलका अनुसार स्थानीयले शनिबार बिहान फोहोर बोकेर आएका गाडीलाई एक घण्टासम्म रोकेका थिए।
उनले आगामी १५ दिनभित्र आफूहरूका माग सम्बोधन नभए बञ्चरेडाँडामा फोहोर विसर्जन पूर्ण रूपमा रोक्ने चेतावनी दिए।
‘फोहोर र मानिस सँगै बस्ने अवस्था छैन,’ सन्जेलले भने, ‘विगतमा भएका सहमति कार्यान्वयन भएनन्। अब माग सम्बोधन नभए फोहोर खन्याउन रोक लगाउन बाध्य हुन्छौं।’
स्थानीयका अनुसार बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा निस्कने लिच्चेड खोलामा मिसिन थालेको छ। कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन नगरिँदा २० वर्षका लागि निर्माण गरिएको भनिएको ल्यान्डफिल साइटमा फोहोरको मात्रा तीव्र रूपमा बढेको उनीहरूको भनाइ छ।
स्थानीयले प्रभावित क्षेत्रको जग्गा अन्तर्राष्ट्रिय मापदण्डअनुसार अधिग्रहण गर्नुपर्ने माग गरेका छन्। त्यसैगरी लिच्चेडको उचित व्यवस्थापन, स्थानीयको स्वास्थ्य तथा शिक्षाका लागि विशेष व्यवस्था र रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उनीहरूको माग छ।
बञ्चरेडाँडामा अहिले फोहोरको चुली बढ्दै गएको स्थानीयको भनाइ छ। चार वर्षअघि बञ्चरेडाँडामा फोहोर विसर्जन सुरु गरिए पनि अपेक्षाअनुसार दीर्घकालीन व्यवस्थापन हुन नसकेको उनीहरू बताउँछन्।
यसअघि काठमाडौं उपत्यकाको फोहोर १७ वर्षसम्म नुवाकोटको सिसडोलमा विसर्जन गरिएको थियो। सिसडोलको क्षमता सकिएपछि धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमास्थित बञ्चरेडाँडालाई नयाँ ल्यान्डफिल साइटका रूपमा प्रयोग गर्न थालिएको हो।
तर बञ्चरेडाँडा पनि विस्तारै सिसडोलकै अवस्थामा पुग्न थालेको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार फोहोर व्यवस्थापनको दीर्घकालीन योजना र वैज्ञानिक प्रविधि कार्यान्वयन नभए केही वर्षमै यहाँ पनि समस्या अझ गम्भीर बन्न सक्छ।
फोहोरका कारण स्थानीयको स्वास्थ्यमा समेत असर परेको दाबी गरिएको छ। गाउँमा क्यान्सर, मुटु तथा मिर्गौलासम्बन्धी रोगका बिरामी बढेको स्थानीयको भनाइ छ। झाडापखाला, टाइफाइड, श्वासप्रश्वास तथा छालासम्बन्धी समस्या पनि घरघरमा देखिन थालेको उनीहरूको दाबी छ।
फोहोर व्यवस्थापनका कारण कृषि उत्पादनमा कमी आएको तथा पशुपन्छी पालनमा समेत असर परेको स्थानीयको गुनासो छ।
काठमाडौं उपत्यकासहित २१ वटा स्थानीय तहबाट संकलन हुने फोहोर बञ्चरेडाँडा क्षेत्रमा विसर्जन हुँदै आएको छ। स्थानीयले अहिले राखेका माग सम्बोधन नभए फोहोर विसर्जन रोकिने अवस्था आएमा उपत्यकाको फोहोर व्यवस्थापन पुनः प्रभावित हुन सक्ने देखिएको छ।
स्थानीयले सरकारलाई विगतका सहमति कार्यान्वयन गर्न र बञ्चरेडाँडालाई दीर्घकालीन रूपमा सुरक्षित तथा वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आग्रह गरेका छन्। उनीहरूले १५ दिनभित्र माग सम्बोधन नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्।
२०८३ भदौ ६ गते शनिवार १०:३३ बजे प्रकाशित






















