गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन भएको छ।
प्रहरीले गिरीलाई शनिबार बिहान विराटनगर–८ मधुमारास्थित आफ्नै घरबाट पक्राउ गरेको थियो। पक्राउको खबर फैलिएपछि कारागारभित्रका केही कैदीबन्दीले उनको पक्षमा प्रदर्शन गरेका हुन्।
मोरङ जिल्ला कारागारका जेलर राजन घिमिरेका अनुसार बी ब्लकका कैदीबन्दीले गिरीको पक्षमा प्रदर्शन गरेका भने ए ब्लकका कैदीबन्दीले उनको विरोध गरेका छन्। गिरीमाथि बी ब्लकका कैदीबन्दीलाई वितरण गरिएको गर्मी भत्ताबापतको १३ लाख ४० हजार रुपैयाँ दुरुपयोग गरेको आरोप छ।
मोरङ कारागारमा तीन वटा ब्लक छन्। कारागारमा रहेका एक हजार १८५ कैदीबन्दीलाई प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँका दरले गर्मी भत्ता वितरण गरिएको थियो। तीमध्ये ए ब्लकमा ५३९ जना, बी ब्लकमा ५३६ जना र महिला ब्लकमा ११० जना कैदीबन्दी रहेका छन्।
बी ब्लकका ५३६ कैदीबन्दीका लागि छुट्याइएको १३ लाख ४० हजार रुपैयाँ वितरण गरिएको केही समयमै हराएको बताइएको छ। यही घटनाको अनुसन्धानका क्रममा गिरी पक्राउ परेका हुन्।
पक्राउपछि गिरीले छाती दुखेको गुनासो गरेपछि प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरेको छ।
अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्षको सजाय भुक्तान गरेका गिरी करिब दुई वर्षअघि कारागारबाट रिहा भएका थिए। उनी जेलबाहिर रहे पनि कारागारको आन्तरिक व्यवस्थापनमा अझै हस्तक्षेप गर्दै आएको आरोप लाग्दै आएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
२०८३ असार १३ गते शनिवार १८:२१ बजे प्रकाशित























