"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गरिमा हत्या प्रकरणमा गृहमन्त्रीको अपिल: अनुसन्धान प्रभावित हुने गरी दबाब नदिन आग्रह

काठमाडौं । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा सरकारमाथि नागरिकस्तरबाट भइरहेको खबरदारीलाई गृहमन्त्री सुधन गुरूङले सकारात्मक रूपमा लिएका छन्। तर, अनुसन्धान प्रभावित हुने गरी दबाब नदिन उनले आग्रह गरेका छन्।

गृहमन्त्री गुरूङले सामाजिक सञ्जालमार्फत नागरिकले सरकारका काममाथि प्रश्न उठाउन र कमजोरी देखिए सचेत गराउनुपर्ने बताएका हुन्। उनले सरकारलाई जवाफदेही बनाउन नागरिक खबरदारी आवश्यक रहेको उल्लेख गर्दै घटनाको अनुसन्धानलाई आफ्नो प्रक्रियाअनुसार अघि बढ्न दिनुपर्नेमा जोड दिएका छन्।

‘नागरिकको खबरदारी आवश्यक छ। सरकारमाथि प्रश्न उठाउनुहोस्, कमजोरी देखिए सचेत गराउनुहोस्, हामीलाई जवाफदेही बनाउनुहोस्,’ गुरूङले भनेका छन्, ‘तर अनुसन्धानलाई आफ्नो काम गर्न दिऔं।’

गरिमा हत्या प्रकरणलाई सरकारले संवेदनशील रूपमा लिएको उनको भनाइ छ। विगतका घटनामा भएका कमजोरी र अनुभवबाट पाठ सिक्दै यसपटक अनुसन्धानलाई प्रभावकारी बनाउन सरकार सचेत रहेको उनले बताएका छन्।

गृहमन्त्रीका अनुसार सरकारको उद्देश्य एउटा घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाही गराउनेमा मात्र सीमित छैन। बालिका तथा छोरीहरू सुरक्षित रूपमा बाँच्न सक्ने वातावरण निर्माण गर्नु पनि सरकारको प्रमुख जिम्मेवारी रहेको उनले उल्लेख गरेका छन्।

उनले घटनामा प्रचलित कानूनले उपलब्ध गराउने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। साथै, यस्ता अपराध भविष्यमा दोहोरिन नदिन कानुनी तथा संस्थागत संरचनालाई थप बलियो बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

‘आक्रोशलाई न्यायको शक्तिमा बदलौं, गरिमालाई न्याय दिलाऔं,’ गृहमन्त्री गुरूङले भनेका छन्, ‘हरेक छोरीका लागि सुरक्षित नेपाल बनाऔं।’

गरिमा हत्या प्रकरणमा नागरिकस्तरबाट न्यायको माग तीव्र भइरहेका बेला गृहमन्त्रीको यस्तो आग्रह आएको हो। सरकारले अनुसन्धानलाई निष्पक्ष र प्रभावकारी रूपमा अघि बढाउने तथा दोषी देखिए कानूनअनुसार कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

सरकारले घटनाबाट पाठ सिकेर भविष्यमा यस्ता अपराध रोक्न आवश्यक कानुनी र संस्थागत सुधारतर्फ समेत ध्यान दिने जनाएको छ।

२०८३ भदौ ६ गते शनिवार १०:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु