भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने झन्डै एक हजार व्यक्ति घाइते भएका छन् ।
विपद्का कारण देशमा ठुलो सङ्कट उत्पन्न भएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा सङ्कटकाल घोषणा गरेको छन्।
उनका अनुसार भूकम्पबाट ठुलो भौतिक क्षति पुगेका कारण काराकासस्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ ।
बुधबार साँझ गएका ७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्प भेनेजुएलामा एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ । यसको धक्का छिमेकी देशहरू ब्राजिल र कोलम्बियासम्म समेत महसुस गरिएको थियो ।
सरकारी टेलिभिजनले प्रसारण गरेका दृश्यमा ला गुआइरा राज्यको भग्नावशेषबाट धूलोले ढाकिएका तीन बालबालिकालाई जीवितै उद्धार गरिएको देखाइएको छ ।
कार्यवाहक राष्ट्रपति रोड्रिगेजले ला गुआइरा क्षेत्रलाई ‘विपद् क्षेत्र’ घोषणा गर्दै भवन भत्किएका कारण यो क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको जानकारी दिए। हाल प्रभावित क्षेत्रहरूमा सेना र उद्धारकर्मीहरू परिचालन गरी खोजी तथा उद्धार कार्यलाई तीव्र पारेको खबर अलजजिराले लेखेको छ ।
२०८३ असार ११ गते बिहीवार १९:२६ बजे प्रकाशित























