विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता आवश्यक : संयोजक प्रचण्ड
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एकजुट भएर खोजी, उद्धार र राहतमा जुट्नुपर्ने बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले विपत्तिका बेला राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो।
उहाँले अहिले देश गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै लामो बहस र राजनीतिक मतभेदमा अल्झिने समय नभएको बताउनुभयो। “सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्धार र राहतमा जुट्ने समय हो,” उहाँले भन्नुभयो।
प्रचण्डले पछिल्ला प्राकृतिक विपत्तिको प्रकृति, तीव्रता र प्रभाव हेर्दा यसलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र लिन नहुने बताउनुभयो। जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम र बदलिँदो प्राकृतिक अवस्थासँग यस्ता घटना जोडिएको उहाँको भनाइ छ।
उहाँले तत्काल खोजी, उद्धार र राहतसँगै विपत्तिको दीर्घकालीन जोखिम न्यूनीकरण र रोकथामका लागि वैज्ञानिक, प्राविधिक तथा नीतिगत अध्ययन गरी राष्ट्रिय रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो।
तर अहिलेको पहिलो दायित्व मानिसको जीवन बचाउनु रहेको भन्दै प्रचण्डले खोजी, उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
उहाँले सम्बन्धित छिमेकी मुलुकसँग तत्काल समन्वय गरी उपलब्ध सूचना तथा पूर्वसूचना संयन्त्रलाई प्रभावकारी रूपमा सक्रिय बनाउनुपर्ने बताउनुभयो। विशेषगरी हिमाली क्षेत्रमा विपद्को जोखिम र पूर्वसूचना प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउन छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्ने उहाँको भनाइ छ।
लवायु परिवर्तनका कारण हिमाली मुलुकले भोगिरहेको जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा राख्दै जलवायु न्याय, क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको विषयलाई सशक्त रूपमा उठाउनुपर्ने प्रचण्डले बताउनुभयो।
उहाँले विगतमा कोशी बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पलगायतका विपत्तिमा नेपाली समाज र राजनीतिक शक्तिहरूले एकताबद्ध भएर सामना गरेको स्मरण गर्नुभयो।
राजनीतिक मतभेद र विमति लोकतन्त्रमा स्वाभाविक भए पनि विपत्तिका बेला ती मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्ने उहाँले बताउनुभयो।
रसुवाको भोटेकोशी बाढीबाट सिर्जित संकटबाट पार पाउन सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने प्रचण्डले बताउनुभयो। उहाँले आफ्नो पार्टीले उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकायसँग समन्वय गरी परिचालित हुन पार्टी पंक्तिलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो।
“आज हामी सबैले एउटा साझा संकल्प गर्नुपर्छ—विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्,” प्रचण्डले भन्नुभयो।
२०८३ भदौ ११ गते बिहीवार ११:२६ बजे प्रकाशित





















