एमाले कार्यदलले एकीकृत प्रतिवेदन तयार गर्ने
काठमाडौँ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सहमतिका आधारमा एकीकृत प्रतिवेदन तयार गरी सचिवालयमा पेस गर्ने भएको छ।
च्यासलमा बसेको कार्यदल बैठकपछि सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचना वा राजीनामाको विषय प्रतिवेदनमा नराख्ने तथा विशेष महाधिवेशन नबोलाउने विषयमा सहमति भएको बताउनुभयो। राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषय पनि प्रतिवेदनमा समेटिने उहाँले जानकारी दिनुभयो।
नेतृत्वको कार्यकाल र उमेर हदलगायत विधान संशोधनका विषय नियमित विधान महाधिवेशनमा छलफल गर्ने तथा प्रदेशबाट प्राप्त सुझावलाई प्रतिवेदनमा समेट्नेबारे पनि छलफल भएको बस्नेतले बताउनुभयो।
यसअघि कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन आएपछि सहमति जुट्न सकेको थिएन। दुवै प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी थापा, विष्णु पौडेल र पोखरेललाई दिइएको थियो।
२०८३ असोज ४ गते आइतवार १७:०० बजे प्रकाशित























