ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ चालक एकै दिन कारबाहीमा
काठमाडौँ, कात्तिक १८ गते । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ७९, तीव्रगतिमा चलाउने ५८, सीसीटीभीबाट पहिचान भएका ३५ र ट्राफिक बत्ती उल्लङ्घन गर्ने २३ जना कारबाहीमा परेका छन्।
त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १३, लेन अनुशासन उल्लङ्घन गर्ने आठ, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २१ र एकतर्फी सडकमा नियमविपरीत चलाउने दुई जनासहित अन्य ३६९ चालक कारबाहीमा परेका छन्।
सडक दुर्घटना न्यूनीकरण र सवारी आवागमन व्यवस्थित गर्न ट्राफिक जाँच तथा निगरानीलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ। प्रहरीले सबै चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ।
२०८३ कात्तिक १८ गते बुधवार १५:०३ बजे प्रकाशित























