ग्यास आपूर्ति सहज भएको निगमको दाबी, उपभोक्ताले अझै पाएनन्
काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुँदै गएको दाबी गरे पनि उपभोक्ताको सास्ती हट्न सकेको छैन । महिनौँदेखि ग्यास नपाएका उपभोक्ता पसल र डिलर धाउन बाध्य छन् ।
भक्तपुरकी सविना बोहजुले तीन महिनादेखि ग्यास पाउन नसकेको गुनासो गर्नुभएको छ । अर्का उपभोक्ता सुनील दुवालले पनि लामो समयदेखि नाम टिपाउँदा समेत ग्यास नपाएको बताउनुभएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भने जिल्लामा ग्यास आपूर्ति सहज भइसकेको दाबी गर्नुभएको छ । एउटा कम्पनीको ग्यास नपाए अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर लिन सकिने उहाँको भनाइ छ ।
प्रशासनले आपूर्ति सहज भएको बताए पनि उपभोक्ता भने अझै ग्यासको अभाव झेलिरहेका छन् ।
२०८३ कात्तिक १९ गते बिहीवार १०:५६ बजे प्रकाशित























