सामाजिक सुरक्षा भत्तामा ३१ लाखभन्दा बढी अनियमितता, पाँच जनाविरुद्ध मुद्दा
काठमाडौँ – ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा वडा नं। ९ पोकलीमा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना भएको आयोगले जनाएको छ ।
अनुसन्धानका क्रममा तत्कालीन वडा अध्यक्ष शुकविर तामाङले विभिन्न व्यक्तिको नाममा आफ्नै बुढीऔँलाको ३६० वटा औँठाछाप प्रयोग गरी २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।
त्यस्तै, दोहोरो नाम राख्ने, मृत्यु भइसकेका तथा बसाइँसराइ गरेका लाभग्राहीको नाममा समेत रकम वितरण गरेको झुटो विवरण पेस गरी पेस्की फर्छ्योट गरिएको आयोगले जनाएको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध बिगो र सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो ।
२०८३ कात्तिक २० गते शुक्रवार १४:४२ बजे प्रकाशित























