प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, राष्ट्रिय एजेन्डाबारे छलफल हुँदै
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मङ्सिरमा हुने भारत भ्रमणको तयारी तीव्र पारिएको छ । भ्रमणमा उठाइने राष्ट्रिय एजेन्डा, द्विपक्षीय भेटवार्ता र सम्भावित सम्झौताका विषयमा परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँग छलफल अघि बढाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले नेपालको राष्ट्रिय हितसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
शुक्रबार आयोजित प्रेस मिटमा उहाँले बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि क्षतिको विस्तृत मूल्याङ्कन ९पीडीएनए० भइरहेको पनि बताउनुभयो । प्रतिवेदन आएपछि आवश्यक बजेट र पुनर्निर्माणको प्राथमिकता निर्धारण गरिनेछ ।
यसैबीच, प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्दै सूचना आदानप्रदान र समन्वय प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । अपराध नियन्त्रण र नागरिकको जिउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन उहाँले निर्देशन दिनुभएको प्रवक्ता अर्यालले बताउनुभयो ।
प्रवक्ताका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार बिहानसम्म १८ अर्ब ३९ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ ।
सरकारले सार्वजनिक सेवा प्रवाह, सुशासन र बजार अनुगमनलाई प्रभावकारी बनाउने काम अघि बढाएको छ । यस्तै, स्थगित सरकारी विद्युतीय खरिद प्रणाली कात्तिक १७ देखि पुनः सञ्चालनमा ल्याइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १६ देखि १९ गतेसम्म ८२६ वटा गुनासा प्राप्त भएकामा ८१६ वटा फर्छ्योट भएको कार्यालयले जनाएको छ । सरकारी वेबसाइट, ओटीपी र इन्टरनेट सेवासम्बन्धी समस्या गुनासाका प्रमुख विषय रहेका छन् ।
२०८३ कात्तिक २० गते शुक्रवार १४:४५ बजे प्रकाशित























