"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बजारमा हरियो तरकारीको मूल्य आकाशिँदै, केहि तरकारीमा २ सय प्रतिशतसम्म मूल्य बढ्यो

काठमाडौँ । पछिल्ला हप्ताहरूमा बजारमा हरियो तरकारीको मूल्य आकाशिँदै गएको छ, जसले सर्वसाधारण उपभोक्ताको भान्छा खर्च अत्यधिक बढाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक वर्षको अवधिमा धेरै तरकारीको होलसेल मूल्यमा उल्लेख्य वृद्धि भएको छ । समितिका तथ्यांकअनुसार केही तरकारीमा त २०० प्रतिशतसम्म मूल्य बढेको छ ।

खुद्रा बजारमा कालीमाटीभन्दा दोब्बर मूल्यमा तरकारी बिक्री भइरहेका छन् । उदाहरणका लागि, सिमीको मूल्य प्रतिकिलो २०० देखि २५० रुपैयाँ, कन्ने च्याउ ३५० रुपैयाँ, र भिण्डी २०० रुपैयाँ पुगेको छ ।

कुन तरकारीमा कति वृद्धि ?

समितिको विवरणअनुसार भिण्डी र चिचिण्डोको मूल्य अघिल्लो वर्षको तुलनामा करिब २०० प्रतिशतले बढेको छ ।  गत वर्ष कात्तिक १ मा भिण्डीको औसत मूल्य प्रतिकिलो ४५ रुपैयाँ थियो । अहिले त्यो १३५ रुपैयाँ पुगेको छ । चिचिण्डोको मूल्य पनि २५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ । त्यसैगरी, काउलीको मूल्य ११६ रुपैयाँबाट २५० रुपैयाँ पुगेको छ, जुन ११४ प्रतिशतको वृद्धि हो ।

अन्य तरकारीको स्थिति

तोफू १७ प्रतिशतले बढेको छ भने जिरीको साग ३६ प्रतिशतले महँगो भएको छ । डल्ले च्याउ, तोरीको साग, फर्सी, तितेकरेला, रातो मुला, बरेला, र कन्ने च्याउलगायतका तरकारीमा पनि १० देखि ३० प्रतिशतसम्म वृद्धि देखिएको छ ।

किन बढ्दैछ मूल्य ?

कालीमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार मूल्य बढ्नुका प्रमुख कारण मौसमी परिवर्तन, आपूर्तिमा कमी, र प्राकृतिक प्रकोपको असर हुन् । उनले भने, “अहिले बर्खे तरकारीको सिजन सकिँदैछ, तर हिउँदे तरकारी अझै बजारमा आएको छैन । त्यसैले ताजा तरकारीको आपूर्ति घटेको छ ।”

साथै, हालैको वर्षा र बाढी–पहिरोले तरकारी खेतीमा क्षति पुर्‍याएको र त्यसको असर बजारमा देखिएको उनले बताए । भारतबाट आयात पनि घटेकाले आपूर्ति पक्ष कमजोर भएको र त्यसले मूल्य बढाएको श्रेष्ठको भनाइ छ ।

भण्डारण गर्न सकिने आलु, प्याजजस्ता तरकारीको मूल्य भने स्थिर छ । केही नयाँ आलुको मूल्य बढे पनि भारतीय आलु सस्तो रहेको श्रेष्ठले जानकारी दिए । हाल दैनिक ७०० देखि ८०० मेट्रिक टन फलफूल र तरकारी कालीमाटीमा आइपुग्ने गरेको छ ।

अघिल्लो वर्षको तुलनामा यो परिमाण केही बढेको भए पनि ताजा हरियो तरकारीको हिस्सा घटेको देखिएको समितिले जनाएको छ ।

श्रेष्ठका अनुसार, हिउँदे तरकारी बजारमा आइपुगेपछि मात्र मूल्यमा स्थिरता आउने अपेक्षा गरिएको छ । मौसमी चक्र, वर्षा–पहिरोको असर र आपूर्तिमा कमीले गर्दा अहिले बजारमा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको हो ।

२०८२ कात्तिक २ गते आइतवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु