"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काभ्रेमा रेबिजबाट तीन जनाको मृत्यु, सावधानी अपनाउन आग्रह

काभ्रे । प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महिनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यसैगरी २०७६ साल माघ १७ गते धुलिखेल नगरपालिका–४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ । मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो । मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो । रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईको समेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको थियो ।

दुई महिनाअघि चौंरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । केन्द्रले चौंरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण गरेको छ । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरी देउरालीमा यस विरुद्धको २०० भ्याक्सिन पठाइएको केन्द्रले जनाएको छ ।

केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका बनेपा, धुलिखेल र पनौती नगरपालिकामा गरेको सर्वेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको जनाएको छ । यसमध्ये तीन हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरण गरिएको केन्द्र प्रमुख डा गोपालप्रसाद शाहले बताए । उनले भने, “यी तीन नगरपालिकाको बाँकी कुकुरलाई क्रमश: भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिनेछ ।” उनका अनुसार जिल्लाको १३ स्थानीय तहमा कुकुरको सर्वे गर्दै भ्याक्सिन तथा बन्ध्याकरण कार्यक्रम बिस्तार गर्दै लगिनेछ । सम्भावित जोखिम न्यूनीकरण गर्न हाल दुई हजार भ्याक्सिन केन्द्रमा ल्याइएको छ ।

यसैबीच केन्द्रमा हाल सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ । वाग्मती प्रदेशस्थित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको सौजन्य तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर ९नार्क० को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा १०० कुकुरलाई रेबिजविरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने योजना छ । सामुदायिक र छाडा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण तथा रोगबारे जनचेतना फैलाउँदा रोगको न्यूनीकरण गर्न सकिने जनाइएको छ ।

रेबिज के हो र यसबाट कसरी बच्ने ?

रेबिज जनावरको टोकाइका क्रममा र्यालबाट सर्ने प्राण घातक रोग हो । यो रोग लागेपछि त्यसको सङ्क्रमण स्नायु प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ । विशेषगरी यो रोगबाट सङ्क्रमित कुकुर, बिरालो, मुसा वा जङ्गली जनावरको टोकाइबाट सर्ने प्रमुख शाहले बताए ।

यो प्राण घातक रोग भएपनि आत्तिनुपर्ने रोग नभएको उनको भनाइ छ । रेबिज विरुद्धको खोप आइसकेको र टोकाइ पूर्व नै त्यस्तो खोप लगाउँदा रोगबाट बच्न सकिन्छ । यस्तै त्यस्ता जनावरले टोकेमा तत्काल साबुन पानीले घाउ धोएर तत्काल चिकित्सकको सल्लाहअनुसार उपचार गरे पनि रेबिजबाट बच्न सकिन्छ । तर बहुलाएको कुकुर वा त्यस्तो रोग लागेको शङ्का लागेका जनावरले टोकेपछि पनि हेलचेक्रयाई गरी रेबिजविरुद्धको खोप लगाउन ढिलाइ गरे मानिसको ज्यानै जाने उनको भनाइ छ । यस्तै रोग लागेको जनावरको र्याल घाउमा परेमा वा त्यस्तो जनावरको जुठो खाएमा पनि रेबिज रोग सर्छ ।

स्वास्थ्य तथ्याङ्कअनुसार नेपालमा वर्षेनी २०० बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ । प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तर्राष्ट्रिय रुपमा जनचेतना जगाउन तथा सरोकारवालाबीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रुपमा मनाउने गरिएको छ । विश्वमा आगामी सन् २०३० सम्ममा रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ

२०७८ असार २५ गते शुक्रवार १७:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु