असारे विकास अन्त्य गरिने, आगामी फागुन २० भित्रै योजनाको सम्झौता गर्न उपभोक्ता समितिलाई आग्रह
बागलुङ । असारे विकास अन्त्य गर्ने र सुशासन कायम गर्ने भन्दै बागलुङको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रम तथा योजना सम्झौता गर्ने अन्तिम मिति तोकेको छ । उपभोक्ता समितिलाई आगामी फागुन २० गतेभित्रै योजनाको सम्झौता गर्न नगरपालिकाले औपचारिक आग्रह गरेको हो ।
समयमा योजनाको सम्झौता नभएका कारण काम समयमा नहुने र अन्तिम समयमा हुने कामले परिणाम नदिने भन्दै फागुन २० सम्मको समयावधि दिइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए । “कार्यपालिकाको निर्णयअनुसार सूचना प्रकाशन गरेर उपभोक्तालाई जानकारी गराएका छौँ”, शर्माले भने, “हिउँदमै काम सकेर बर्खा लागेपछि नयाँ योजना बनाउने र समीक्षा गर्ने काममा लाग्छौँ ।”
जैमिनीमा हालसम्म ४० प्रतिशत योजनामा मात्रै सम्झौता भएका छन् । “बाँकी रहेका योजना सम्झौता गर्नका लागि वडा तहबाट नै जानकारी उपभोक्ताको घरघरमा पुगेको छ”, शर्माले भने, “समयमा सम्झौता नभए स्वीकृत कार्यक्रम पछि चल्ने छैनन् ।”
२०७६ फागुन १८ गते आइतवार १६:०८ बजे प्रकाशित





















