क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग
पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग गरिएको हो ।
आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट निर्माण सामग्री बोकेर चितवनको भरतपुरस्थित रंगशाला भित्रिएका हुन् । राष्ट्रिय झण्डा फहराउँदै र राष्ट्रिय गान बजाउँदै लाइन लागेर टिपरहरु रंगशालामा भित्रिएका थिए । व्यवसायीका तर्फबाट कार्यक्रम संयोजक बनेका तोया लम्सालले गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जनस्तरको सहयोगबाट बनेको नेपालीहरुको साझा धरोहर भएकाले यसलाई सकेको सहयोग गर्नुपर्ने बताए ।
यो महाअभियानमा सबैले सहयोग गर्नुपर्छ भन्ने भावका साथ कयौं किलोमिटर टाढाबाट सकेको सहयोग गर्न यहाँ आएका छौं,’ संयोजक ढकालले भने, ‘हरेक नेपालीबाट सकेको सहयोग गर्न सके रंगशाला बन्न धेरै दिन लाग्दैन । निर्माण सामग्री बोकेर आएका टिपर चालक र व्यवसायीलाई स्वागत गर्दै धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेले हरेक नेपाली जनताको साझा धरोहर क्रिकेट रंगशाला भएकाले सहयोग गर्नुपर्ने बताए ।
फाउण्डेशनका अध्यक्ष कट्टेलले आर्थिक स्रोत सहज भएमा अबको केही महिनामा नै रंगशाला तयार हुने बताए । रंगशालामा अहिले स्टाण्ड ‘ए’ र स्टाण्ड ‘बी’को प्याराफिटको काम भैरहेको छ ।
२०७७ चैत ३० गते सोमवार १४:४८ बजे प्रकाशित























