समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताउनुभएको छ । प्रत्यक्ष्य निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा लैजाने गरी व्यवस्था गर्न त्यसका लागि संविधान संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले भन्नुभयो, “समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधानमा रहेको व्यवस्था परिमार्जन गरेर जानुपर्छ, त्यसका लागि संविधान संशोधन गर्नुपर्छ, संविधान संशोधन गर्न संसद्मा दुई तिहाइ चाहिन्छ, त्यसमा सबै पार्टीमा सहमति भए गर्न नसकिने होइन, हामीले मात्रै केही गर्न सक्दैनौँ ।”
कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ भन्दै उहाँले नेता तथा कार्यकर्तालाई पार्टी बलियो बनाउन जिल्ला, पालिका, वडा, गाउँ र टोलसम्म अभियान लिएर जान निर्देशन दिनुभयो । सङ्गठनलाई बलियो बनाउने अभियान भक्तपुरबाटै सुरु गरेर सफलता प्राप्त गर्दै देशभर फैलाउन पनि उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । गठबन्धनको सरकारमा ठूलो पार्टी नेपाली कांग्रेस भए पनि सबैलाई चित्त बुझाएर जानुपर्ने बाध्यता रहेको बताउनुभयो । गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेस ठूलो पार्टी बनेको उहाँले उल्लेख गर्नुभयो ।
२०८० जेठ २७ गते शनिवार २०:३४ बजे प्रकाशित






















