काठमाडौँ महानगरको ‘प्लस टु’ मा आफूखुसी शुल्क लिन नपाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिने कार्यमा रोक लगाएको छ । महानगरपालिकाले शुल्कमाथि नियमन गर्दै २०८०/०८१ का लागि कक्षा ११ मा के कति शुल्क लिने हो ? त्यसका लागि प्रस्ताव आह्वान गरेको छ ।
कामपाले सूचना जारी गर्दै सबै निजी विद्यालयहरुलाई यही असार मसान्तसम्म कुनकुन शीर्षकमा कति शुल्क लिने हो उक्त विवरण पेस गर्न भनेको हो । कामपाको शिक्षा ऐन २०७५ को दफा २७ ९९० बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहितको विवरण उपलब्ध गराउन पत्रमार्फत आग्रह गरिएको थियो ।
हाल कामपामा पाँच सय २० वटा निजी विद्यालयहरु सञ्चालित छन् । ती सबै विद्यालयलाई कामपाले यही असार मसान्तभित्र विवरण पेस गर्न निर्देशनसहित पत्राचार गरिसकेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए।
शिक्षा अधिकारी कोइरालाका अनुसार निजी विद्यालयहरुले मनपरी शुल्क लिएको गुनासो आए पनि कामपाले आफ्नो अधिकारको प्रयोग गरेको हो । उनले भने, “कामपाको शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार सबै विद्यालय सञ्चालन हुनुपर्छ । हामीले सोहीअनुसार लान लागिएको हो । ऐनले दिएको अधिकार प्रयोग गरेर पहिलो पटक माध्यमिक तह कक्षा ११ र १२ को शुल्क निर्धारण गर्न लागेको हो ।”
नियमानुसार प्रत्येक वर्ष विद्यालयहरुले आफ्नो शुल्क विवरण महानगरमा पेस गर्नुपर्ने भए पनि धेरै विद्यालयहरुले पेस नगरेपछि यस किसिमको अभ्यास गर्न लागिएको हो । कामपाले तोकेको समयसीमा शुल्क विवरण उपलब्ध नगराउने विद्यालयलाई अनुगमन गरी नियमानुसार कारबाही गरिने पनि प्रमुख कोइरालाको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेस हुने शुल्क नै अन्तिम शुल्क हुने पनि कामपाको भनाइ छ ।
२०८० असार ११ गते सोमवार २०:१५ बजे प्रकाशित























