प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको छ । बुधबार बसेकाे प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले पेश गरेको ‘विनियोजन विधेयक’ बजेट बहुमतले पारित गरेकाे हाे ।
जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए । उक्त बजेटलाई बुधबार अर्थमन्त्री डा. महतले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।
बजेट सन्तुलित नभएको भन्दै बजेटको विपक्षमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमतले मत हालेका थिए ।
संसदमा बजेट प्रस्तुतअघि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय विनियोजन विधेयककै अंगका रुपमा समेट्न माग गर्दै संसद अवरोध गरेका थिए । त्यसपछि सो विषयमा सहमति खोज्न सभामुख देवराज घिमिरेले १५ मिनटेका लागि बैठक स्थगित गरेका थिए ।
दोस्रो पटक बसेको बैठकमा अर्थमन्त्री महतले बजेट पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख घिमिरेले बहुमतले पारित भएको घोषणा गरेका थिए । लगत्तै एमाले सचेतक महेश बर्तौलाले बजेट पारित गर्नुहुन्न भन्ने प्रस्ताव अत्यधिक देखिएको भन्दै मत विभाजनको माग गरेका थिए । त्यसपछि सभामुखले प्रक्रिया अघि बढाएका थिए ।
मत सच्याउन सभामुखले तीन मिनेटको समय दिएका थिए । तर, कुनै पनि सांसदले मत सच्याएनन् । त्यसपछि सभामुखले मत विभाजनमा बजेटको पक्षमा १४७ मत र विपक्षमा १०८ मत खसेको घोषणा गरेका थिए ।
२०८० असार १३ गते बुधवार २०:३९ बजे प्रकाशित























