भ्रष्टाचारविरूद्ध कठाेर कदम चालेपछि सरकार ढाले: प्रचण्ड
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यको नेतृत्वमा बस्नेहरूले गरेको भ्रष्टाचारविरूद्ध कठाेर कदम चालेपछि सरकार ढालेकाे बताएका छन् ।
मोरङको ग्रामथानस्थित नेताचाेकमा आयोजित पार्टी प्रवेश तथा बृहत् जनसभामा बोल्दै उनले आफ्नो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको क्षेत्रमा र आर्थिक समस्या समाधान गर्ने जमर्को गरेको बताएका हुन् ।
यस्तै मुलुकमा आर्थिक क्रान्ति गर्न भारतमा १० हजार मेगावट बिजुली बेच्ने सहमति गरेको, पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गरेको, चीन भ्रमणको क्रममा बीआरआई परियोजना ल्याउने लगायतका सम्झौता गरेको उनले जानकारी दिए । उनले इटाली र राष्ट्र संघकाे महासभामा गरेको सम्बोधनको विश्वमा चर्चा भएको दाबी गर्दै जसले नेपालको छविमा सुधार आएको उनको दाबी थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सुशासनको सुई बालकाेट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालिएकाे उनले आरोप लगाए । तर, आफू सरकारबाट निस्कँदा पनि विजेताको भावमा जनतामा आएको बताउँदै सरकारमा रहनेहरूको भने डरले गएको साताे अझै नफर्किएको दाबी गरे । अहिलेको सरकार बन्ने गठबन्धनलाई उनले तथाकथित गठबन्धन भएको आरोप लगाए ।
पर्यटन व्यवसायीको निर्वाचनमा नेपाली काङ्ग्रेस र एमालेको गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाको हुन लागेको उप निर्वाचनमा पनि काङ्ग्रेस-एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताए ।
उनले जनताको अपार समर्थन बढ्दै गएको भन्दै ८४ को निर्वाचनमा माओवादीलाई ६४ सालको अवस्थामा पुर्याउने दाबी गरे । भूमाफिया, भ्रष्टाचार, मिटरब्याजीहरूकाे विरुद्धमा काम गरेकै कारण माओवादी ठुलो पार्टी बन्नै पर्ने उनले बताए ।
२०८१ भदौ २९ गते शनिवार १७:२० बजे प्रकाशित






















