साना पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन सरकारलाई अध्यक्ष नेपालकाे चेतावनी
लुम्बिनी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन सरकरालाई चेतावनी दिएका छन् ।
उनले अरुलाई सिध्याउने उद्देश्यले अध्यादेश ल्याउन लागेको सुनेको बताउँदै सरकारलाई अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन चेतावनी दिएका हुन् । सोमबार नेकपा एकिकृत समाजवादीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले हिटलरी शैलीलाई परित्याग गर्न घुराउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।
‘देशलाई विकास कसरी गर्ने त्यसमा छलफल गर्नुस्, हामी पनि छलफल गर्न तयार छौं,’ नेपालले भने ‘अरु पार्टी सिध्याउने अध्यादेश मान्य हुँदैन ।’ उनले अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जाने बताए । ‘संसारको इतिहासले बताएको छ, संसारलाई समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस्,’ ओलीतर्फ संकेत गर्दै नेपालले भने ।
आफूहरूमा एमाले र केपी शर्मा ओली कसैसँग पनि बदलाको भावना नभएको बताए । उनले आफुहरु देश विकास कसरी गर्ने भन्ने विषयमा सहयोगी बन्न तयार रहेको बताए । अध्यक्ष नेपालले कतिपयले नेकपा एकिकृत समाजवादीका बारेमा भ्रम फैलाएको बताए । ‘एमालेमा विलिन हुने वा माओवादीमा मिसिन लागेको भनेर गरेको प्रचार गलत छ, हामी कसैसँग विलिन हुँदैन, आफ्नै खुट्टामा उभिन्छौं,’ अध्यक्ष नेपालले भने ।
२०८१ कात्तिक ५ गते सोमवार १७:३२ बजे प्रकाशित























