"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मधेसको विकासमा सबैभन्दा बढी योगदान एमालेको छः प्रधानमन्त्री

पर्सा। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताएका छन ।

नेकपा एमालेको पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौँनीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेकोसमेत दावी गरेका छन् ।

‘हामी क्रान्तिकारी हौं, क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु मात्र होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेसका मसिया भन्ने पार्टीका नेताहरुले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे, हामी त्यस्तो गर्दैनौँ । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका छौँ । यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेछ भन्नेमा ढुक्क हुनुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ  ।’

उनले देश एमालेले मात्रै बनाउन सक्ने पनि जिकिर गरेका छन । सो कार्यक्रममा उनले भने, ‘देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा  यस्तै प्रवेशको लहर फैलिनेछ।’

प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको र अब पुनः ती कामले गति लिइरहेकोसमेत बताए । स्थानीयबासीको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नती गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास पनि प्रधानमन्त्री ओली बताए ।

बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिलाहरुलाई सामाजिक र राजनीतिकरुपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दै महिला र युवालाई अत्यधिकरुपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यस अनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिएका छन ।

कार्यक्रममा सो गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाललगायत विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका थिए ।

२०८१ पुस १४ गते आइतवार १७:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु