भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति आएको थियो, हामीले संयमित हुन आग्रह गरेपछि रोकियो: प्रधानमन्त्री ओली
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित लडाइँबाट पन्छिएकोमा छिमेकी देश भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन् ।
सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहमा सरिक हुन पुगेका उनले दुई देशबीच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएको प्रति उनले सन्तोष व्यक्त गरे ।
उनले बुद्धको सन्देश जहिले पनि सान्दर्भिक हुनेबारे चर्चा गर्ने क्रममा भने,’बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन्।’
यसै क्रममा उनले भारत र पाकिस्तानबीच झण्डै हात हालाहालको अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति दिएका हुन्। ‘भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालको स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्यौँ,’ उनले भने।
उनले भने ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्यौँ । उहाँहरुसित पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’
२०८२ वैशाख २९ गते सोमवार १८:०२ बजे प्रकाशित























